मकवानपुरगढी ५ मा चिल्ड्रेन पार्क बन्दै

मकवानपुर, २८ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै गाउँपालिकाको वडा नम्बर ५ मा चिल्ड्रेन पार्क निर्माण कार्य अघि बढाएको छ । हालसम्म पार्कको काम ३० प्रतिशत सम्पन्न भएको छ । गढी गाउँपालिका–५ स्थित धादिङ बजार नजिकै भएको १२ कठ्ठा सार्वजनिक जग्गामा पार्क निर्माण कार्य अघि बढाइएको हो । निर्माण लागत १ करोड ९४ लाख ५७ हजार अनुमान गरिएको सो पार्क निर्माणमा गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को लागि ५ लाख ५० हजार विनियोजन गरेको र उक्त पार्क बन्ने पञ्चवर्षे योजना रहेको धादिङ टोल विकास समितिका सचिव चन्द्रलाल महर्जनले जानकारी दिनुभयो ।

सहिद स्तम्भ, विभिन्न फुलको बगैंचा सहितको पार्कमा पोखरी, आउने जाने प्रवेशद्वार छुट्टाछुट्टै र २ सय मिटर सम्मको क्षेत्रफलमा मेसनरी बाल लगाउने कार्यको तयारी भईरहेको छ । हालसम्म उक्त पार्कमा वृक्षारोपण, हाट बजार राख्नको लागि घर ,फलामको घेराबारा र मेसिनरी वाल तयार भएको सचिव महर्जनले बताउनुभयो । हरियालीलाई विशेष प्राथमिकता दिएको पार्कमा घुम्नको लागि र मनोरञ्जन हुने गरी पोखरी तथा बगैंचाहरुको पनि राम्रो व्यवस्था रहने बताईको छ । बाहिरबाट आफ्नो टोलमा घुम्नको लागि आवश्यक स्थान नभएपछि स्थानीयहरुले पनि निर्माण कार्यमा बढी चासो राखेको उहाँले बताउनुभयो ।

स्थानिय स्तरमा गरिने करोडौं लगानीले स्थानियलाई रोजगार दिने र पर्यटकका लागि नयाँ गन्तव्य थपिनेमा स्थानीयहरु विश्वस्त छन् । हाल बजेटको अभावले केही समयको लागि काम रोकिएको र बजेट आउना साथ निर्माण कार्य पूनः अगाडि बढाउने समेत महर्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*