विश्वकै सबैभन्दा ठूलो लागुपदार्थ गिरोहका नाइके पक्राउ

माघ ११, काठमाण्डौ – विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक जना पक्राउ परेका छन् ।

चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् । संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने उनलाई एम्स्टार्डममा रहेको स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । नेदरल्यान्डको प्रहरीले अस्ट्रेलियाद्वारा जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ ।

एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका उनी अस्ति शुक्रबार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका हुन् । उनी आबद्ध गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्ने पनि बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै रोएटर्सले सो चि लपको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्रै सन् २०१८ मा १७ अर्ब डलरभन्दा धेरै रकम आम्दानी गरेको अनुमान गरेको थियो ।

उनको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका झण्डै २० वटा निकायले सहकार्य गरेको रोयटर्सले जनाएको छ । लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए। अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको पक्राउलाई दुई दशकमा प्रहरीले हासिल गरेको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*