कसरी बच्ने डेंगु संक्रमण गराउने ‘टाइगर लामखुट्टे’ बाट !!

२०७६, जेठ ३० । पछिल्लो केही दिनयता धरान नगरपालिका र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। हालसम्म ती क्षेत्रका २ सय ४० जनामा डेंगु फेला परेको छ। संक्रमण देखिएका बिरामी अस्पतालमा उपचाररत छन्। डेंगुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाएको छ। टोलीले डेंगु नियन्त्रणका कामसहित डेंगु गराउने लामखुट्टेका विषयमा पनि अध्ययन गरेको थियो। सो क्रममा प्रभावित क्षेत्रमा डेंगु गराउने दुई प्रकारका लामखुट्टे फेला परेका छन्।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे फेला परेका छन्। तर, धरानमा एडिस अल्बोपिक्टस नामका लामखुट्टे, लार्भा र प्युपा समेत फेला परेका हुन्। यी दुवै प्रकारका लामखुट्टे फेला पर्नु भनेको डेंगु रोग फैलने सम्भावना थप बढ्नु हो। यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन्। नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन्। डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस एजेप्टाई बढी सक्रिय हुन्छन् भने एडिस अल्बोपिक्ट भने केही लोसे हुन्छन्।

किन भनियो टाइगर लामखुट्टे ?
डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये धरानमा पहिलो पटक भेटिएको एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ। धरानमा पहिलो पटक देखिएको भए पनि यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ। सन् १८६६ मा एसिया र भारतका टापु तथा प्रशान्त महासागरतिर यसको बसोबास क्षेत्र मानिन्थ्यो। सन् १९६० यता यो लामखुट्टे युरोप, अमेरिका, क्यारिबियन, अफ्रिका र पूर्वी प्रान्ततिर पनि फैलिसकेको छ। सन् १८९४ मा ब्रिटिस अस्ट्रेलियिन इन्टोमोलोजिस्ट (किराविज्ञ) फेड्रिक ए एसक्वु स्क्युजले एसियन टाइगर मस्क्विटो अर्थात् एसियाको टाइगर लामखुट्टे भनेर नामकरण गरेका थिए। यी विशेषगरी उष्ण ९ट्रोपिकल० र सब ट्रोपिकल क्षेत्रमा धेरै मात्रामा हुने गर्छन्। यो झट्ट हेर्दा कालो रंङको हुने गर्छ। शरीरभरि सेतो छिर्केमिर्के हुन्छ। विशेषगरी बाघको जस्तै शरीरमा टाटेपाटे बुट्टा भएको हुनाले यसलाई टाइगर मस्क्विटो भनिएको हो। यसले मानिसलाई मात्र नभई जनावर तथा चराचुरुङ्गीलाई पनि टोक्छ।
यसले देखिने छालाको कुनै भागमा पनि टोक्न सक्छ। घरभित्र वा बाहिर जहाँ पनि टोक्न सक्छन् तर विशेषगरी घर बाहिर टोक्छन्। यो २ देखि १० मिलिमिटर लम्बाइको हुन्छ। लमखुट्टेको शरीरको बनोट, उमेर तथा खाना अनुसार फरक पर्छ। पोथीभन्दा भाले लामखुट्टे २० प्रतिशत जति साना हुन्छन्। तर हेर्दा उस्तैउस्तै देखिन्छन्। विश्वमा यो लामखुट्टेले एकदमै छिटो रोग फैलाउने गर्छ। यो लामखुट्टेले दिउँसो मात्र टोक्छ। यसले धेरै भाइरस सार्ने त्यसमाथि पनि डेंगु ज्वरोको जोखिम बढाउने गर्छ। पोथी लामखुट्टेले पानीमा अण्डा पार्छ। घरको छेउछाउ खाल्डाखुल्डी, फालिएका भाँडाकुडा, रुखका टोड्कामा यसले अण्डा पार्ने गर्छ। पोथी लामखुट्टेले पानीको सतहमा अन्डा पार्छे र पानीमै अन्डाबाट लामखुट्टे बन्छन्, त्यो पनि ७ देखि ९ दिनमा वयस्क हुन्छन्। लामखुट्टेको आयुदर ३ हप्ताको हाराहारीमा हुने गर्छ। पहिले दक्षिणपूर्वी एसियामा पाइने यी लामखुट्टेहरु फैलिँदै गएका छन्। सामान ओसारपसार र वैदेशिक यात्राले यसको फैलावट बढिरहेको छ । उनीहरुको बसाइ विशेषरी प्रकृति नजिकै हुन्छ। विशेगरी रुखका प्वाल, टोड्का र बिरुवा झाडीमा बस्ने गर्छन् र जमेका पानी भाँडामा पनि यिनीहरु अन्डा पार्छनन्। यो लामखुट्टेले डेंगु तथा चिकुनगुनिया भाइरस संक्रमण गराउने भनेर चिनिन्छ तर यसले अरु भाइरसको पनि संक्रमण गराउँछ। जस्तैः वेस्ट नाइल, इस्टर्न इक्वाइन इन्सेफ्लाइटिस, जापनिज इन्सेफ्लाइटिस। यसले डग हर्टवर्म प्यारासाइट पनि संक्रमण गराउँछ, जुन विशेषगरी कुकुरलाई त्यस प्रकारको जुका पर्नसक्छ। यसले मानिसमा जिका भाइरसको संक्रमण गराउनसक्ने पनि क्षमता राख्छ।
यो लामखुट्टे दिउँसोको समयमा एकदमै आक्रमक भएर टोक्छ। यसले यति छिटो टोक्छ कि मान्छेले प्याट्ट पार्न नपाई भाग्छ। उनीहरु प्रायः बिहान र राति आराम गर्छन् र दिउँसो सक्रिय रहन्छन्।

नेपालमा डेंगु
नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारिक रुपमा सन् २००६ को नोभेम्वरमा नेपालमा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। नेपालमा भारतबाट डेंगु प्रवेश गरेको बताइन्छ। सुरुमा नेपालगन्जमा यो रोग भेटिएको थियो। त्यसपछि विस्तारै तराईका अन्य जिल्लाका सहरी क्षेत्र हँुदै राजधानी काठमाडौंमा समेत देखिन थालेको हो।

लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ। ज्वरोका साथै निम्न लक्षणहरू प्नि देखापर्छन्।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसपेसी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ ।

बच्ने उपाय
– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानि जम्न नदिने।
– पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ।
– घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*