यस्ता छन् रेडियो प्रशारणको सुरुवात र वर्तमान अवस्था

आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

रेडियोका आविस्कारक इटालीयन वैज्ञानिक जि. मार्कोनी हुन् उनले सन १८९५ मा रेडियो तरङ्ग पत्ता लगाए । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिक रुपमा प्रशारण शुरु गरिएको हो । सन १९१९ को अक्टोबरमा अमेरिकाको पिट्सवर्ग शहरमा वासिन्टन हाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो । विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन १९२० मा भएको थियो । त्यही दशकमा अमेरिका र बेलायतमा रेडियोहरु व्यापक रुपमा खुल्न थाल्यो । रेडियो प्रसारण सम्बन्धि विद्युत–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएको हो यद्पी त्यसलाई व्यावहारत प्रमाणित गर्न निक्कै लामो समय कुर्नु पर्यो । आवाजलाई बिना तार पनि प्रशारण गर्न सकिन्छ भन्ने सिद्धान्त सन १८९५ मा मार्कोनीले प्रमाणित गरे, त्यसपछि औपचारिक रुपमा रेडियोको अविष्कार भएको मानिन्छ । त्यसको ६ वर्षपछि सन् १९०१ मा माकोर्नीले ध्वनी सङ्केतलाई २ हजार १०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको होे । त्यस्तै सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशनमा परिणत भयो ।

एफएमः एफएमको पुरारुप फ्रिक्वन्सी अफ मोडुलेसन हो । जसका आविस्कारक भने अमेरिकी वैज्ञानिक एडिवन् होवार्ड आर्मस्टङ्ग हुन उनले एफएमको तरङ्ग १९३० मा पत्ता लगाए । तर उनको प्रविधि प्रयोग गर्ने रेडियो कर्पोरेसन अफ अमेरिकाले उनलाई कुनै रोयल्टी दिएन । रोयल्टीका लागि उनले हारगुहार गरे मुद्दा लडे तर न्याय पाउन सकेनन् । निराश तथा हतास भएका उनले न्युयोर्कको एक घरको तेह्रौ तल्लाबाट हाम फालेर आत्महत्या गरको बताइन्छ ।

मार्कोनीले रेडियोको आविस्कार जुन सुकै उद्देश्यका साथ गरेका भए पनि समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको छ । रेडियोले सर्वसाधारणको चेतनास्तर वृद्धिगर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा निकै नै ठूलो फड्को मारिसकेपछि वि।सं। २००३ साल तिर नेपालमा पहिलो पटक एउटा रेडियो खुलेको थियो । ७÷८ महिनामा वन्द भएको उक्त रेडियो हालको विद्युत प्राधिकरण रहेको भवनमा थियो । उता जहानिया राणा साशनको विरुद्धमा आवाज वुलन्द गर्दै २००४ साल तिर नै तत्कालिन विद्रोही काँग्रेसी कार्यकर्ताहरुले पुर्वी नेपालको पहाडी जिल्लाहरुबाट डोके रेडियो सञ्चालनमा ल्याएका थिए भनी केही अग्रजहरु बताउँछन् । नारदमुनी थुलुङलगाएतले सञ्चालन गरेको उक्त रेडियोको नाम “रेडियो प्रजातन्त्र” थियो ।

यस क्षेत्रका जानकारहरुका अनुसार पछि तारणी प्रसाद कोइरालाले बिराटनगरबाट रेडियो प्रशरणमा ल्याएका थिए । सोही रेडियोको उपकरणहरु प्रयोग गरी विधिवत रुपमा भने २००७ साल चैत्र २० गते काठमान्डौँमा रेडियो नेपालको स्थापना भयो र यसले नै नेपालको पहिलो रेडियोको मान्यता पनि पायो । त्यसताका नेपालमा विदेशी रेडियोहरुको प्रभुत्व थियो बिबिसि, विविध भारती, अल इन्डिया जस्ता रेडियोहरुले नै नेपाली भाषामा कार्यक्रमहरु प्रशारण गर्ने गर्थे । ती कार्यक्रमहरु सर्वसाधारणहरु भेला भएर एकाद ठुलाबडाहरुकाहाँ मात्र भएका इजाजत पत्र प्राप्त रेडियोबाट सुन्ने गर्थे । काठका फ्रेम भएका फुलबुट्टे मखमली कपडाको खोल लगाइएका ६ देखी १० ओटा सम्म ठूला ब्याट्री लाग्ने ठूला रेडियो पिँडीमा राखेर गाउँलेहरुलाई सुनाउन पाउँदा ठूलाबडाहरु निक्कै गर्व गर्ने गर्थे रे । कोही ठूला बडाहरु स्रोताहरुलाई भुटेको मकै ,गुन्द्रुक र मोही पनि बाडीदिने गर्थे । कतै कतै स्रोताहरु पालो गरेर मकै, रोटी, गुन्द्रुक, मुलाको अचार ल्याएर रमाईलो गर्दै रेडियो सुन्दै र खादै गर्थे । यसरी समुहमा बसेर रेडियो सुन्ने प्रचलन ६२÷६३ सालको जनआन्दोलन अघी सम्म कायमनै थियो । रेडियो नेपालको स्थापनापछि त्यसका कार्यक्रमहरु पनि निकै लोकप्रीय थिए । रेडियो नेपालका कार्यक्रमहरु र प्रस्तोता अझैपनि धेरैको मन, मस्तिस्कमा छन् ।

०५४ साल अघि रेडियो नेपालको एकल बजार थियो त्यसबेलाका स्रोताहरु त्यसताका रेडियो नेपालबाट प्रशारण भएका कार्यक्रम तथा विज्ञापनका अंशहरु अहिले समेत फरर सुनाउछन् । कृषि कार्यक्रमकी बुढी आमै लक्ष्मी भुषालको हरिशरणम्को थेगो जनजिब्रोमा अहिले सम्म झुन्डिरहेकै छ । कतिपय व्यक्तिहरु हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हुन नानु भन्ने विज्ञापन अहिले पौराणिक उखान झै बनेको छ । आफ्ना कुराहरु पुष्टिगर्न उदाहरण स्वरुप प्रस्तुत गर्छन् । पुराना पुस्ताका प्रस्तोताहरु स्व। प्रविण गिरी, स्व। पाण्डव सुनुवार , दाहाल यज्ञनिधि , कृष्णा ताम्राकार , माधव घिमीरे, स्व। वासुदेव मुनाल, धन लामा, नोपुर भट्टाचार्य ,मीरा राणा , तारा थापा ,श्री प्रधान , रविन शर्मा, बविता बस्नेत,कोमल ओली देखी नवराज लम्साल , टिका भण्डारी , अमरध्वज लामा , नविन दाहाल , चन्दा विष्ट आदी थुप्रै प्रस्तोताहरुका आवाजका पारखीहरु आज पनि थुप्रै भेटिन्छन् । शनिवार १ः३० वजे प्रशारण हुने नाटकका कलाकार निर्देशक मदनदाश श्रेष्ठ ,प्राविधिक जितेन्द्र महत अभिलाशी,बम बाहादुर थापा आदी नामहरु स्रोताहरु अझै सम्झन्छन् ।

पाण्डप सुनुवारले चलाउने प्रतिभा प्रष्फुटन गराउने कार्यक्रम चौतारी नसुनिकन खाना नै नखाने स्रोताहरु थुप्रै थिए दीपकराज गिरी र दीपाश्री निरौलाको मधेशी शैलीको रामविलाश र धनियाले धेरै स्रोताको अह््रान्नको समय लुट्ने गथ्र्योे । समाचार प्रेमी स्रोताहरु विभिन्न समयका समाचार र घटना र विचार नछुटाई सुन्ने गर्थे आजपनि कतिपय व्यक्तिहरुले त्यतिखेरको रेडियो नेपालको समाचारको धुनलाई आफ्नो मोवाईलको रिङटोन बनाउने गर्छन् । पाण्डव सुनुवारको हात्तीछाप फोनइन कार्यक्रम सुन्न र फोन गर्न शनिवार पर्खने स्रोताहरु धेरै थिए । चर्चित प्रस्तोता नवराज लम्सालको प्रत्यक्ष फोनइन , सुर संगम , मधुवन जस्ता कार्यक्रले त धेरै साहित्यकार र रेडियो कर्मी जन्माउन महत्वपुर्ण भुमिका खेलेको छ भन्दा अतिसयुक्ती नहोला । देशका सङ्गित क्षेत्रका अधिकांश हस्तीहरु रेडियो नेपाललेनै जन्माएका हुन । रेडियो नेपालको स्वर परीक्षा पास नगरी गायक वा गायिका हुनै नसक्ने अवस्था थियो कुनैवेला ।

रेडियो नेपाल बाहेक नेपाली भाषामा प्रसारण हुने अन्य रेडियोहरुका कार्यक्रमहरु पनि सुन्ने चलन थियो त्यस बेला । बिबिसि नेपाली सेवाको विस्वसनीयता जनमानसमा प्रस्ट देखिन्थ्यो । रेडियो नेपाल सरकारी भएकोले सरकार परस्त देखिन्थ्यो कतिपय घटनाक्रमसँग सम्वन्धित समाचारको तथ्य मुल्याङ्कन गर्ने कडीका रुपमा वौद्धिक स्रोताहरु बिबिसिलाई लिने गर्थे । सन्तुलित र स्पष्ट भएकै कारण विश्व प्रसिद्ध बनेको बिबिसिले नेपाली सेवा मार्फत नेपाली स्रोताहरुको राम्रैसँग मन जितेको थियो । मनोरञ्जनका लागि अलइन्डिया, रेडियो खर्साङ्ग, विविध भारती, चाईना अन्तर्राष्ट्रि«य रेडियो लगायतका रेडियोहरुबाट प्रशारण हुने नेपाली कार्यक्रमहरु सुन्ने गरिन्थ्यो । आज अवस्था फेरिएको छ ।

२०५४ कात्तिक ३० मा नेपालमा पनि पहिलो पटक एफ.एम. रेडियो, एफएम काठमाण्डु रेडियो नेपालले नै भित्र्यायो । पछि २०५४ देखि निजी क्षेत्रले समेत एफएम रेडियोहरु सञ्चालन गर्न पाउने कानून बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोको रुपमा रेडियो सगरमाथाले प्रशारण प्रारम्भ ग¥यो । त्यसपछि देशका विभिन्न स्थानमा खोलिएका रेडियोको संख्या सयौं पुगिसकेको छ । रेडियोकर्मीहरुको संख्या समेत चार हजार नाघिसकेको छ । राजधानीमा करीब ३० ओटा रेडियो सञ्चालनरत रहेका छन् । राजधानीवाहेक कतिपय ठुला शहरहरुमा १० देखी १५÷२० ओटा सम्म रेडियोहरु सञ्चालनमा छन् । एफ।एम।को तरङ्घले लगभग देशको पुरै क्षेत्र तरङ्गित बनाउन भ्याएको छ । यद्पी कयौ रेडियोहरु थुप्रै आन्तरिक र बाह्य समस्याहरुबाट गुज्रीरहेका छन् ।

वैधानिक लागुपदार्थ मानिने मदिरा उद्योग र सूचनाको सम्वाहक सवैभन्दा धेरै प्रभावकारी सञ्चारमाध्यम रेडियोले उत्तीनै राजस्व तिर्नुपर्ने तितो यथार्त विद्यमान छ । अन्य थुप्रै आन्तरिक समस्याहरु रेडियोहरुले झेलिरहेका छन् । यसरी विकासको थुप्रै क्षेत्रमा पछि परेको हाम्रो देश नेपाललाई सूचनाको माध्यमबाट रुपान्तरण गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने रेडियोका विविध समस्या समाधानमा सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । समाज परीवर्तनमा उल्लेख्य भुमिका खेल्न सफल यहाँका रेडियोहरु विदेशीहरुको समेत अध्ययनको क्षेत्र बन्न पुगेको छ । त्यसकारण पनि रेडियोहरुको विकास,व्यवस्थापन र स्थायीत्वका लागि उचित कदम चालिनुपर्ने आवश्कता देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*