प्रदेशमा १ सय २७ वटा योजनाको काम भइरहेको छ : मन्त्री फुयाल

२२ साउन,हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले विकासको गति समातेको बताउदै हाल प्रदेशमा एकसय २७ वटा महत्वपूर्ण योजनाहरुको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठ वटाभन्दा बढी निर्माणाधिन तथा निर्माण गर्नुपर्ने योजनाहरुको अनुगमनपछि रासससंग कुरागर्दै मन्त्री फुयालले अगामी दुईमहिना भित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनुभयो । मन्त्री फुयालले ३५ वटा आयोजनाहरुको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिकवर्ष २०७७÷७८ पुल बाहेक ४० वटा आयोजनाहरु सम्पन्न हुने बताउनुभयो ।

विभिन्न योजनाहरुको अनुगमनका क्रममा चितवन पुग्नुभएका मन्त्री फुयालले राप्ती नगरपालिकाको वडा नम्बर ७ र ८ का किसानहरुको खेतबारीे सिंचाइँका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गर्नुभयो । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयालले जनताको समस्या समाधानका लागि सरकारले जनतासंग नै मिलेर काम गर्ने बताउनुभयो । उहाँले रकम अभावका कारण कुनैपनि काम नरोकिने बताउदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री फुयालले नारायणी खगेरी लिफ्ट सिंचाइँ, हरिपुरमा गत महिना भाचिएर पुननिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दीर तथा सुकुम्बासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माण स्थल, हरियाली उद्यान सहितको केरुङ्गा घोलको बाँध निर्माण स्थल, नारायणी नदी स्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधिन उद्यान लगायत आठवटा योजनाहरुको अनुगमन गर्नुभएको थियो ।

अनुगमनमा प्रदेश सभा सदस्य घनश्याम दाहाल, विजय सुबेदी , मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*