संक्रमितको संख्या बढे संगै ११ नम्बर वडामा थप सजगता

मकवानपुर, २६ असोज । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले चाडपर्वका समयमा वडावासीहरुलाई कोरोनाबाट बच्न विशेष अपिल गरेको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै दशैँ तथा तिहारको शुभकामना सहित वडाका विभिन्न राजनीतिक दल, वडा स्तरीय टोल विकास संस्था, विद्यालय व्यवस्गथापन समिति, वन समिति, सहकारी संस्था र नागरिक समाजको प्रतिवद्धत्ता सहित कोरोनाबाट सचेत रहन अपिल गरेको हो ।

वडा कार्यालयले वडाको निर्देशन पालना गर्न आग्रह गर्दै उल्लेख गरिएका निर्देशनहरुको अवज्ञा गरेमा कानुन बमोजिम कारवाहीको लागि सिफारिश गरिने चेतावनी समेत दिएको छ । वडा कार्यालयले जारी गरेका १२ वटा निर्देशनहरु ठूलो एकादशीसम्म लागुहुने वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

वडा कार्यालयले विजयादशमी, दिपावली र छठ पर्वलाई परम्परागत ढंगबाट नभई आ–आफ्नै घरमा बसी घरभित्रै मनाउन निर्देशन दिएको छ । त्यस्तै आफन्त र ईष्टमित्रलाई घरमा नबोलाउन र उनीहरुको घरमा नजानको लागि पनि वडा कार्यालयले निर्देशन दिएको छ । मठमन्दिरमा पनि भिडभाड नगर्न तथा मन्दिरमा पुजारीलेमात्र र अन्यले घरमै पूजा गर्न पनि वडाले निर्देशन दिएको छ । दिपावलीमा देउसीभैलो कार्यक्रम नगर्न र नगराउन, मादकपदार्थ सेवन बन्द गर्न तथा विक्री वितरण नगर्न, जुवा तास नखेल्न नखेलाउन, कुनैपनि संघसंस्थाले भेला हुने कार्यक्रम नगर्न तथा शुभकामना तथा चियापान कार्यक्रम नगर्न नगराउन पनि निर्देशन दिएको छ । साथै कोरोना संक्रमित व्यक्ति यत्रतत्र बाहिर डुलिरहेको हुदा रिर्पोट नेगेटिभ नआइन्जेल अनिवार्य रुपमा घरभित्र बस्न र अनावश्यक रुपमा घरबाहिर नजान पनि निर्देशन दिइएको छ ।

वडा कार्यालयले विभिन्न बाहनामा भईरहेको चन्दा संकलन कार्य तत्काल बन्द गर्न, कोरोना संक्रमितहरुलाई मानविय व्यवहार गर्न गराउन, भौतिक दुरी कायम गर्न र अनिवार्य माक्सको प्रयोग गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*